कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् ।

कथाकी पात्र‘ (०६७) कथासंग्रह प्रकाशन गरेपछि राम्रो लेखनशिल्पका कारण प्रकाशकको नजरमा परेका उनको त्यसयता लगालग उपन्यास आइरहेको छ । ०६९ सालमा प्रकाशित समर लभ‘ पछि उनी सेलिब्रिटी लेखक नै बने ।
त्यसको दुई वर्षपछि समर लभकै दोस्रो भाग साया बाट पनि सुबिनले नयाँ पुस्ताको उत्तिकै माया पाए । समर लभको लोकप्रियतासँगै यसको अंग्रेजी अनुवाद पनि छापिएको छ । प्रेमकै विषयमा लेखिएको उनको तेस्रो उपन्यास मनसुन यही शनिबारदेखि बजारमा आउँदै छ । लेखनमा प्रेम र रोमान्स पोख्न रुचाउने यी लेखकसँग प्रेमकै सेरोफेरोमा रहेर गरिएको कुराकानी :
पहिले र अहिलेमा प्रेमको परिभाषा निकै फरक भइसक्यो भनिन्छतपाईंलाई के लाग्छ ?
एकदमै फरक भएको छ । पहिलेको झैँ शास्त्रीय प्रेम अब देख्न पाइन्न । अहिलेको पुस्ता प्रेममा धेरै कमिटेड (प्रतिबद्ध) हुन्न जस्तो लाग्छ । प्रेमलाई गम्भीर रुपमा लिनेहरुको संख्या उल्लेखनीय छैन ।
लगातार प्रेमकै विषयमा आख्यान लेखिरहनुभएको छ । प्रेमको कुन पक्षले तपाईंलाई यस्तरी उकास्यो ?
प्रेम गर्ने तरिका फरक भएको होला, तर प्रेम सदियौँदेखि गरिँदै आएको छ र पछिसम्म गरिनेछ । त्यसैले पनि यो प्रेम भन्ने चिजको कुनै अवधि या आयु हुन्न । जबसम्म प्रेम छ, तबसम्म प्रेम सम्बन्धी गीत सुनिन्छन्, प्रेम सम्बन्धी सिनेमा हेरिन्छन् र प्रेम सम्बन्धीका कथा पढिन्छन् । त्यसैले प्रेम जहिल्यै लेखिए पनि त्यसलाई सधैँ रुचाइन्छ भन्ने लाग्छ । प्रेम लेख्दा जुन किसिमको तरङ्ग मभित्र पैदा हुन्छ, त्यो अभूतपूर्व छ । अझ भावुक प्रेमीको रोदनलाई शब्दमा उतार्दा म बडो आनन्दित हुन्छु ।
धेरै गम्भीर भएर प्रेम गरियो र आफूले चाहे अनुरुपको भएन भने मान्छे पागल हुन्छ, वा जोगी हुन्छ या अरु नै खालको दुःख पाउँछ । मान्छे सबैभन्दा दु:खी त्यसबेला हुन्छ, जब उसले अरुबाट धेरै आशा गर्न थाल्छ
कोही मायाले पागल बनायो भन्छन्कोही जोगी बनायो भन्छन् । खासमा मायाले गर्छ के ?
यो माया गर्ने तरिकामा भर पर्छ । धेरै गम्भीर भएर प्रेम गरियो र आफूले चाहे अनुरुपको भएन भने मान्छे पागल हुन्छ, वा जोगी हुन्छ या अरु नै खालको दुःख पाउँछ । मान्छे सबैभन्दा दु:खी त्यसबेला हुन्छ, जब उसले अरुबाट धेरै आशा गर्न थाल्छ । प्रेमको हकमा पनि यही हो । जब प्रेममा पनि शर्तहरु थोपरिन थाल्छन्, तब प्रेमले मान्छेलाई घात गर्छ ।
चिठी पठाउने जुगबाट सूचनाप्रविधिको यो जमानामा आइपुग्दा मान्छेहरु सोसल साइटमा एकअर्कालाई मुटु पठाएर रमाउँछन् । प्रेम व्यक्त गर्न अहिले सजिलो भएको छतर प्रेम पाउन कत्तिको गाह्रो छ ?
भर्चुअल प्रेम त झनै खतरनाक हो । एकदमै थोरै मानिसको प्रेम सफल भएको छ, नभए यसरी फेसबुकबाट सुरु भएको कति माया अन्तमा फेसबुकमै आएर टुंगिन्छ । सम्बन्ध फ्रेण्ड रिक्वेष्ट सेण्डबाट सुरु हुन्छ र अन्तमा अन्फ्रेण्ड वा ब्लकमा आएर टुंगिन्छ । यस्तो धेरैको भएको प्रत्यक्ष देखेको छु । अहिले यसरी प्रेम पाउन खोज्ने पुस्ता छ । प्रेमभन्दा पनि आकर्षणले बढी तानेको हुन्छ । आकर्षणमा धेरै प्रेम घाइते हुन्छ

monsoon_cover

प्रेमको कथा खोतल्ने क्रममा जीवनमा कस्ताकस्ता पात्र भेट्नुभएको छ ?
मैले धेरैजसो त प्रेमबाट बिचलित भएकाहरु नै देखेको छु । प्राय मसँग दुःख पोख्ने नै बढी हुन्छन् । सायद प्रेम सफल भएकाहरु मसम्म आफ्नो प्रेमकथा सुनाउन भन्दा प्रेममै व्यस्त भएका हुँदा हुन् । टिनएजर केटाकेटीदेखि लिएर ६०/६५ वर्षका वृद्धका दुखेसोहरु मैले सुनेको छु ।
तपाईंका पात्रहरु प्रेमसँगै यौनमा पनि खुलेरै लडिबुडी गरेको देखिन्छ । आजको पुस्ताले प्रेम र यौनको भेद देख्न छाडेको हो ?
सायद होला । हाम्रा हजुरबाको पालामा केटा र केटी साथी हुनुले समाजको नजरमा सल्किनुको दर्जा पाउँथ्यो । मेरा बाको पालासम्म आउँदा त्यो अलिकति खुकुलो भयो । साथी हुन सके पनि, केटाले केटीको हात छुनु बडो गम्भीर कुरा हुन्थ्यो । मेरा पालामा आइपुग्दा केटा र केटी साथी हुन थाले । समाजले त्यस्तो सम्बन्धलाई अलिक लचिलो आँखाले हेर्न थाल्यो ।


सेक्सलाई बोल्ड रुपमा चित्रण गर्नु कथाले मागेको कि पाठकलाई मसाला हो ?
अहिलेका युवासम्म आइपुग्दा प्रेम हुनु, ब्रेक अप हुनु, छुनु वा सेक्स हुनुलाई तुलनात्मक रुपमा अलिक सहज रुपमा लिने वातावरण भएकै छ । नेपाली समाजले सेक्सलाई ओभररेटेड गरेको छ । यो खत्तम र नराम्रो चिज हो भनेर रटाइएको छ, त्यसैले यहीँ ज्यादा महिलाहरुमा शोषण हुन्छ ।
विकसित देशहरुमा सेक्स सहज भइसकेको छ, र त्यहाँका महिला तुलनात्मक रुपमा नेपाल र भारत जस्ता देशभन्दा बढी सुरक्षित छन् । सेक्स बोल्नै नहुने, लेख्नै नहुने चिज होइन । यसको बारेमा खुलेर कुरा गर्नुपर्छ । अब म कथामा सेक्स लेख्नुपर्छ भनेर मनले भन्दाभन्दै समाजले के भन्ला, यसले उसले के भन्ला भनेर तर्केर भाग्न चाहन्न । म कुण्ठित छैन, यस मामलामा । त्यसैले यो मसालाभन्दा पनि मेरो च्वाइस हो ।
प्रेमकथाहरु कहिल्यै पुराना हुन्नन् । जहिले पढ्दा पनि कुत्कुत्याउँछ यसले
युवा पुस्ताकै लागि लेख्दै आउनुभएको छलेखनमा नयाँ पुस्ताले के कुरा खोज्ने रैछ ?
पक्कै पनि प्रेम । प्रेमकथाहरु कहिल्यै पुराना हुन्नन् । जहिले पढ्दा पनि कुत्कुत्याउँछ यसले । अनि अर्को कुरा, उनीहरु प्रेरणादायी, सूचनामूलक, राजनीति र गहिरा चिन्तनले भरिएका जीवनका सूक्ष्म कुराप्रति पनि रुचि देखाउँछन् जस्तो लाग्छ ।
समर लभदेखि मनसुनसम्म प्रेमकै किस्सा लेख्नुभएको छउही विषयमा लेखिरहँदा कथाको खडेरी पर्दैन ?
विषय उही भए पनि प्लट र पात्र नयाँ आइरहँदा त्यस्तो खडेरी पर्दैन । फेरि म अद्भूत कथा लेख्दिनँ । मेरा कथा एकदमै सामान्य हुन्छन् । म कथामा भन्दा प्रस्तुति र पठनीय भाषामा ज्यादा जोड दिन्छु ।
हामीले सुनेअनुसार, तपाईंले आफ्नै फ्यानसँग बिहे गर्नुभयो । तपाईं नै मायालु भएर हो कि  लेखनको जादुले तानेको हो ?
फ्यानसित बिहे भएको होइन । तर, उनीसित मेरो पुस्तकको अन्तरक्रिया हुने क्रममा भेट र चिनजान भएको हो । उनको साहित्यिक टेष्ट मेरो लेखाइसित म्याच गर्दैन । अर्थात् उनी मेरो लेखाइभन्दा पनि मेरो व्यक्तित्व र स्वभावबाट चाहिँ प्रभावित भएकी हुन् ।
राष्ट्रिय मुद्दाहरुबारे गम्भीर साहित्य लेख्नुपर्ने बेला सुबिन मायाप्रेमको हल्का विषयमा लेखेर समय बर्बाद पार्दै छ भन्नेहरुलाई तपाईंको जवाफ के छ ?
राष्ट्रिय मुद्दामा लेख्ने अरु लेखकहरु हुनुहुन्छ नि ! म आउनुभन्दा अगाडि पनि हुनुहुन्थ्यो । उहाँहरु हुँदाहुँदै मैले के लेख्नु भन्ने लाग्यो । फेरि अरुले नलेखेको जानरामा हात हाल्ने मन भयो । मलाई यसैमा सन्तुष्टि पनि छ ।
समाजप्रति लेखकको दायित्व त हुन्छ होला नि !
पक्कै हुन्छ । मैले पूरा गरिरहेको छु जस्तो लाग्छ । कोर्स बुकभन्दा बाहिर गएर किताबै नपढ्नेहरुलाई किताब पढ्ने बानी बसालिदिएँ । यो दायित्व निर्वाह गरे बापत भोली समयले सम्झने नै छ भन्ने लाग्छ ।
‘मनसुन’ पछि पनि तपाईंलाई फेरि प्रेमकै विषयले पर्खिरहेको छ कि केही फरक गर्ने सोच छ ?
अहिले भन्न सकिने अवस्था छैन । मूडको कुरा पनि हो । मनसुनले पाठकहरुको कस्तो रेस्पोन्स पाउँछ, त्यसले निर्धारण गर्छ । तर, प्रेमसम्बन्धी नै कथा रोज्ने सम्भावना चाहिँ ज्यादा छ ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.